From Panic to Purpose: A Call for Rational Response

Read Time

3 minutes, 21 seconds

During the height of uncertainty and unrest, Rita Gurung reminded everyone not to panic but to focus on rebuilding with knowledge and education. She urged Nepalis to break the cycle of ignorance, discuss openly, accept mistakes, and learn together. Her call was simple yet powerful: let’s be accountable, stay hopeful, and contribute in whatever way we can to build a stronger, more responsible Nepal.

स्थिति हामीले कल्पना गरेभन्दा बढी गम्भीर र दीर्घकालीन बनेको छ। तर यो आत्तिने समय होइन। भन्न सजिलो छ तर गर्न कठिन — तर हामी सबै मिलेर सक्छौं। एक गहिरो सास लिऔं र अब निर्माणतर्फ ध्यान दिऔं। हाम्रो देशलाई व्यवस्थित तरिकाले पुनःनिर्माण गर्न सकिन्छ।

अहिले सबैभन्दा जरुरी कुरा हो शिक्षा र सही ज्ञान। राजनीति कसरी काम गर्छ, देश कसरी चलेको छ भन्ने बुझ्नेहरू, कृपया आवाज उठाऔं, बाँडौं। आफैं जानौं र अरूलाई पनि जान्न प्रेरित गरौं। अज्ञानताको श्रृंखला तोडौं। नेताको चयन कसरी गर्ने, के सोच्ने भन्नेमा समय निकालौं। पन्छाएर समाधान खोज्न सकिँदैन। हामी आफैं प्रस्तुत हुन डराउनु हुँदैन।

संस्थागत स्तरमा संगठनहरूले के गर्न सक्छन्, व्यक्तिगत स्तरमा हामीले के गर्न सक्छौं — त्यसतर्फ सचेत बनौं। “नेपाली हुनु हाम्रो दुर्भाग्य हो, सतीले शापेको देश हो” भनेर बस्ने होइन। सही राजनीतिक ज्ञान अत्यन्तै जरुरी छ। “मलाई सबै थाहा छैन” भनेर आत्म-अवमूल्यन नगरी खोजौं, छलफल गरौं, बुझौं। सूचना कहाँबाट आएको हो जाँचौं, आधार के हो बुझौं, छिटोछिटो निष्कर्षमा नपुगौं।

घर–घरमा, कार्यालय–कार्यालयमा, सबै ठाउँमा यसबारे छलफल गरौं। “मलाई केही थाहा छैन” भन्दै नबसौं, सिकौं, लेखौं, बोलौं। आत्म–अहंकारभन्दा माथि उठौं। फरक दृष्टिकोण सुन्न सक्ने हिम्मत राखौं। रचनात्मक आलोचना गरौं र स्वीकार गर्ने बानी बसालौं। गल्ती स्वीकार गर्ने साहस राखौं र नयाँ ज्ञान लिन तयार बनौं।

हाम्रो साझा लक्ष्य एउटै हो — नेपाललाई राम्रो बनाउन। नेपाली हुनु अपराध होइन, शाप होइन भन्ने देखाऔं। हामी सक्षम छौं। देश त्याग्ने होइन, देशलाई माया गरेर सचेत कदम चाल्ने हो। थोरै जानकारीका आधारमा कसैलाई पूज्ने होइन। धेरै सावधान हुनुपर्छ।

आफूलाई र अरूलाई प्रश्न गरौं। हिंसा हिंसै हो, तर मानिस आफ्नो पक्षलाई ढाकछोप गर्न खोज्छ — त्यो स्वभाव हो। त्यसमा आफ्नो पूर्वाग्रह पहिचान गरौं र गलत हुन सक्छु भन्ने स्वीकार गरौं। “थाहा नहुनु दोष होइन, तर थाहा पाउन खोज्नु नै नचाहनु दोष हो।” अन्धाधुन्ध कसैलाई पछ्याउनु हुँदैन। गृहकार्य गरौं, जानकार बनौं।

उत्तरदायी हुन डराउँदैनौं, अरूलाई पनि उत्तरदायी बनाउन डराउँदैनौं। दोष दिने वा मात्र आलोचना गर्ने समय होइन, विचार राख्ने र सुन्ने समय हो। सिकिरहनु सामान्य हो। सबैजना कुनै न कुनै स्तरमा अज्ञानी छौं — तर त्यसलाई दोष होइन, सिक्ने अवसरका रूपमा लिनुपर्छ।

परिवार वा वरिपरिको कोही गलत सोचमा छ भने सामना गर्ने, छलफल गर्ने साहस राखौं। हामी निर्माण पनि गर्न सक्छौं, विनाश पनि। निर्माण रोजौं। आफूलाई पनि आलोचनात्मक रूपमा प्रश्न गरौं — “म के गर्दैछु? के गर्न सक्छु?”

यदि चेतना निर्माण भएन भने दीर्घकालमा हामी सबैले भोग्नैपर्छ। छलफल, ज्ञान–विनिमय, विभिन्न दृष्टिकोण बुझ्ने प्रयास अनिवार्य छ। गलत सूचना होइन, सही सूचना खोजौं। बोल्ने र सुन्ने दुवै बानी बसालौं।

अब केही दिनमा सबैले आफ्नो काममा फर्कनैपर्छ। तर फेरि बेवास्ता भयो भने पुरानै चक्र दोहोरिन सक्छ, अझै खराब रूपमै। सचेत बन्नु जरूरी छ। आक्रोश अझ बढ्न सक्छ, पीडा अझ गहिरो हुन सक्छ। त्यसलाई अझ बिग्रन नदिऔं।

क्रान्ति घर–घरबाट, व्यक्तिबाट सुरु हुन्छ। देशप्रेम देखाऔं, राजनीतिक चेतना फैलाऔं। अहिले सानो काम नै किन नहोस् — सहयोग देखाउन जरुरी छ। “यो मेरो व्यक्तिगत समस्या हो” भनेर टार्दा भविष्यमा अझै पीडित बन्नुपर्छ।

आत्तिनु पर्दैन, हार मान्नु पर्दैन। दीर्घकालीन दृष्टि राखौं। फरक–फरक विचार सुन्न चाहन्छु। के गर्ने भन्नेमा सुझाब दिनुहोस्। म आफैंलाई शिक्षित बनाउन चाहन्छु।

आज १० सेप्टेम्बर “विश्व आत्महत्या रोकथाम दिवस” पनि हो। यो कठिन परिस्थितिमा व्यक्तिगत संघर्षहरू बढेका छन्। नकारात्मक सोच आउन सक्छ, समाधान छैन जस्तो लाग्न सक्छ। मस्तिष्क पक्षपाती हुन सक्छ, सामान्य जीवनमा फर्किन गाह्रो हुन सक्छ। यस्तो बेला समाधान भनेको भावनात्मक नियन्त्रण र सहयोग खोज्नु हो। बोलौं, साझा गरौं, सुन्नु र सम्मान गर्नुहोस्।

आशा सिर्जना गरौं किनकि हामी नै आशा हौं। यो पनि बित्नेछ। व्यक्तिगत वा राष्ट्रिय समस्या जसरी भए पनि — हामी मिलेर सक्छौं। आफ्नो भावना आफ्ना प्रियजनसँग बाँडौं। सुरक्षित रहौं, आत्म–सचेत बनौं किनकि हामी सबै मूल्यवान र सक्षम छौं।

यदि कसैलाई मनोवैज्ञानिक सहयोग चाहिएको छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ।

हामी अझ राम्रो गर्न सक्छौं। पूर्वाग्रही कथनहरूलाई प्रश्न गरौं। साझा लक्ष्यमा काम गरौं। सबैको आवाज महत्त्वपूर्ण छ। सचेत बनौं, सुरक्षित रहौं।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *